मुम्बई , कार्तिक ५ –
अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार भएको घटनापछि बलिउडका चर्चित कलाकारहरूको सुरक्षा व्यवस्था थप कडा पारिएको छ। यसैक्रममा अभिनेता अक्षय कुमारको मुम्बईस्थित घरमा बुलेटप्रुफ सिसा जडान गर्ने तयारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मुम्बईको जुहूस्थित पुष्पा नर्सी ग्राउन्ड नजिक टाइगर श्रफको गाडीमा गोली प्रहार भएको घटनाको अनुसन्धानका क्रममा आक्रमणकारीहरूले अभिनेता सलमान खानसहित अन्य चर्चित कलाकारका घरको समेत रेकी गरेको विवरण सार्वजनिक भएको छ।
उक्त विवरण सार्वजनिक भएपछि अक्षय कुमारको घरबाहिर प्रहरी परिचालन गरिएको छ। साथै, सलमान खानको घरमा रहेको बुलेटप्रुफ सुरक्षा संरचनालाई थप मजबुत बनाउने काम भइरहेको समाचारमा उल्लेख छ।
चर्चित कलाकारहरूलाई लक्षित हुन सक्ने सुरक्षा जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायले सतर्कता बढाएको बताइएको छ। गोली प्रहारको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।






