यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा हुने

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक ५ –

आईसीसी यू–१९ महिला विश्वकप क्रिकेटका १५ खेल नेपालमा हुने भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिताका कुल ४१ खेलमध्ये १५ खेल नेपालमा आयोजना हुनेछन्।

सन् २०२७ जनवरी २१ देखि फेब्रुअरी ६ सम्म हुने प्रतियोगिता नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्दैछन्। नेपालमा हुने खेलहरू त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।

प्रतियोगितामा १६ टोली सहभागी हुनेछन्। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपाल, भारत, आयरल्यान्ड र वेस्ट इन्डिज रहेका छन्।

तालिकाअनुसार नेपालले समूह चरणमा जनवरी २२ मा आयरल्यान्ड, जनवरी २४ मा भारत र जनवरी २६ मा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ। नेपालका तीनवटै खेल त्रिवि क्रिकेट मैदानमा हुनेछन्।

समूह चरणपछि सुपर सिक्सका खेल हुनेछन्। प्रत्येक समूहबाट तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। त्यसपछि दुवै सुपर सिक्स समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

प्रतियोगिताका सेमिफाइनल खेल फेब्रुअरी ४ र फाइनल फेब्रुअरी ६ मा बंगलादेशमा आयोजना हुने तालिका छ।

यू–१९ महिला विश्वकपका खेल नेपालमा आयोजना हुनुले नेपाली महिला क्रिकेटको विकास, अन्तर्राष्ट्रिय अनुभव र घरेलु मैदानमा क्रिकेटप्रतिको आकर्षण बढाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्टहरुः