बारा, १२ कात्तिक। बलिउड अभिनेता शाहरुख खानको चर्चित फिल्मी संवाद ‘राहुल नाम तो सुना होगा’ अहिले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सका १६ वर्षीय युवा बलर राहुल यादवको प्रदर्शनसँग मेल खान थालेको छ। ट्यालेन्ट हन्टबाट छनोट भएका राहुलले प्रतियोगिताका सुरुआती दुई खेलमै उत्कृष्ट बलिङ गर्दै टोलीका लागि ‘ट्रम्प कार्ड’ बनेका छन्।
बिहीबार काठमाडौं गोर्खाजविरुद्ध राहुलले चार विकेट लिएपछि जनकपुरको जितमा महत्त्वपूर्ण योगदान दिएका छन्। उनले चार ओभरमा ३१ रन खर्चेर स्मित पटेल, स्याम हेजलेट, करण केसी र मोहम्मद आदिल आलमलाई आउट गरे। उत्कृष्ट प्रदर्शन गरेका राहुल खेलको ‘म्यान अफ द म्याच’ समेत बने।
राहुलको बलिङको विशेषता पहिलो बलमै विकेट लिन सक्ने क्षमता देखिएको छ। काठमाडौंविरुद्ध उनले आफ्नो पहिलो ओभरको पहिलो बलमै अस्ट्रेलियाली ओपनर स्याम हेजलेटलाई विकेटकिपर मोइन अलीको हातबाट क्याचआउट गराए। छैटौँ ओभरमा बलिङमा फर्किएका उनले पहिलो बलमै भारतीय मूलका अमेरिकी ब्याटर स्मित पटेललाई कप्तान हर्मित सिंहको हातबाट क्याचआउट गराए। त्यसपछि १७औँ ओभरमा करण केसी र मोहम्मद आदिल आलमलाई लगातार बलमा आउट गर्दै उनले काठमाडौंलाई थप दबाबमा पारे।
राहुलको एनपीएल यात्रा डेब्यु खेलबाटै प्रभावशाली बनेको थियो। कर्णाली याक्सविरुद्धको पहिलो खेलमा पनि उनले पहिलो बलमै विकेट लिएका थिए। उक्त खेलमा चार ओभरमा १५ रन खर्चेर दुई विकेट लिएका राहुलले दीपक डुम्रे र पाकिस्तानी अलराउन्डर हुसेन तलातलाई आउट गरेका थिए। यससँगै दुई खेलमा उनको विकेट संख्या छ पुगेको छ।
रौतहटको बौधिमाई नगरपालिका–१ का राहुल चन्द्रपुर क्रिकेट एकेडेमीमा क्रिकेट सिक्दै आएका खेलाडी हुन्। जनकपुर बोल्ट्सले आयोजना गरेको ट्यालेन्ट हन्टमा सहभागी ४४६ खेलाडीमध्येबाट छनोट भएका उनले टोलीमा स्थान बनाएका थिए। स्थानीय स्तरमा क्रिकेट खेल्दै आएका राहुललाई जनकपुरले पहिलो खेलमै प्लेइङ ११ मा समावेश गरेको थियो। टोलीले देखाएको भरोसालाई उनले मैदानमा आफ्नो प्रदर्शनमार्फत प्रमाणित गरिरहेका छन्।
१६ वर्षकै उमेरमा एनपीएलजस्तो प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्नु राहुलका लागि ठूलो उपलब्धि हो। सुरुआती दुई खेलमै छ विकेट लिएर उनले आफ्नो क्षमता देखाएका छन्। यही लयलाई निरन्तरता दिन सके नेपाली क्रिकेटमा भविष्यका लागि आशालाग्दो तीव्र गतिका बलरका रूपमा स्थापित हुने सम्भावना छ। अहिलेका लागि भने एनपीएलमा राहुल यादवको नाम चर्चामा आउन थालेको छ— ‘राहुल नाम तो सुना होगा!’







