शिरडी साई बाबा मन्दिर सेवा ट्रष्टले शोभायात्रा गर्ने

1200x150_1200x150-01.jpg (1)

वीरगञ्ज। वीरगञ्जस्थित शिरडी साई बाबा मन्दिर सेवा ट्रष्टले आफ्नो ९औँ वार्षिकोत्सवका अवसरमा पालकी शोभायात्रा तथा महाप्रसाद कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रमबारे जानकारी दिन ट्रष्टले मन्दिर प्राङ्गणमा पत्रकार सम्मेलन आयोजना गरेको छ।

ट्रष्टका अध्यक्ष प्रवेश कुमार सराफको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा मन्दिरको धार्मिक गतिविधि तथा वार्षिकोत्सवको तयारीबारे जानकारी गराइएको थियो।

२०७४ सालमा स्थापना भएको यस मन्दिरले स्थापनाकालदेखि नै सनातन धर्मको परम्पराअनुसार विभिन्न पूजापाठ, चाडपर्व तथा धार्मिक कार्यक्रम आयोजना गर्दै आएको ट्रष्टले जनाएको छ। अध्यक्ष सराफले आफ्नो कार्यकाल सुरु भएदेखि नै ट्रष्टका उपाध्यक्ष सञ्जय कुशवाहालाई पालकी शोभायात्राको संयोजकको जिम्मेवारी दिइएको जानकारी दिए।

ट्रष्टका अनुसार आगामी शनिबार बिहान ८:३० बजे मन्दिरका मुख्य पुजारी जितेन्द्र परासरद्वारा विशेष संकल्प पूजा सम्पन्न गरेपछि पालकी शोभायात्रा सुरु हुनेछ।

शोभायात्रामा शिरडी साई बाबाको विशेष सिङ्गारसहित नगर परिक्रमा गराइनेछ। मन्दिर प्राङ्गणबाट सुरु हुने यात्रा माइस्थान मन्दिर, अलखियामठलगायत वीरगञ्जका प्रमुख धार्मिक तथा सार्वजनिक स्थलहरूको परिक्रमा गर्दै पुनः मन्दिरमै पुगेर समापन हुनेछ।
शोभायात्रामा करिब एक हजार भक्तजन सहभागी हुने आयोजकको अनुमान छ। नगर परिक्रमा सम्पन्न भएपछि मन्दिर प्राङ्गणमा भक्तजनका लागि भव्य महाप्रसादको व्यवस्था गरिएको ट्रष्टले जनाएको छ।

अध्यक्ष सराफले सम्पूर्ण वीरगञ्जवासी तथा साई बाबाका भक्तजनलाई शोभायात्रामा सहभागी भई बाबाको दर्शन गर्न र महाप्रसाद ग्रहण गर्न हार्दिक अपिल गरेका छन्।

यस वर्षको ९औँ वार्षिकोत्सव तथा पालकी शोभायात्रा सम्पन्न गर्न करिब तीनदेखि चार लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको ट्रष्टले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः