नोरा फतेहीलाई २०० करोड ठगी प्रकरणमा अदालतको समन

1200x150_1200x150-01.jpg (1)

बलिउड अभिनेत्री नोरा फतेहीलाई सुकेश चन्द्रशेखरसँग जोडिएको २०० करोड भारतीय रुपैयाँको ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अदालतले समन जारी गरेको छ।

समाचार एजेन्सी एएनआईका अनुसार, दिल्लीस्थित राउज एभिन्यु अदालतले नोरा फतेहीलाई आगामी नोभेम्बर २ मा उपस्थित हुन आदेश दिएको हो। मुद्दामा सरकारी साक्षीका रूपमा उनको बयान अभिलेख गर्न अदालतले बोलाएको छ। प्रवर्तन निर्देशनालय (ईडी) ले दायर गरेको तेस्रो पूरक आरोपपत्रका आधारमा अदालतले यस्तो आदेश जारी गरेको हो।

सुकेश चन्द्रशेखरमाथि रेनबैक्सीका पूर्वप्रवर्द्धक शिविन्दर मोहन सिंहकी पत्नी अदिति सिंहसँग करिब २०० करोड भारतीय रुपैयाँ ठगी गरेको आरोप छ। जेलमा रहेका बेला आफूलाई भारत सरकारको उच्चपदस्थ अधिकारीका रूपमा चिनाउँदै शिविन्दरलाई जेलबाट छुटाइदिने आश्वासन दिएर उनले अदितिसँग उक्त रकम असुलेको आरोप अनुसन्धानमा छ।

यस प्रकरणमा नोरामाथि ठगीबाट प्राप्त रकमबाट महँगा उपहार लिएको आरोप लागेको छ। सुकेश वा उनका सहयोगीले उनलाई विलासी कार, महँगा ब्याग र गरगहनालगायतका सामान उपहार दिएको अनुसन्धान निकायको दाबी छ।

ईडीले यसअघि पनि नोरासँग पटक–पटक सोधपुछ गरेको थियो। सुकेश र नोरालाई आमनेसामने राखेर समेत बयान लिइएको थियो। त्यस क्रममा नोराले एक करोड भारतीय रुपैयाँभन्दा बढी मूल्यको विलासी कार उपहार पाएको स्वीकार गरेको बताइएको छ। सन् २०२० मा चेन्नईमा आयोजित एक कार्यक्रममा उक्त कार आफूलाई दिइएको उनको भनाइ थियो।

यद्यपि, नोराले आफू कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न नरहेको बताउँदै आएकी छन्। अनुसन्धान निकायसमक्ष दिएको बयानमा उनले आफू पनि यस प्रकरणमा पीडित भएको दाबी गरेकी थिइन्।

यसै मुद्दामा अभिनेत्री ज्याकलिन फर्नान्डिस पनि आरोपित छिन्। अनुसन्धान प्रतिवेदनअनुसार, सुकेशले ज्याकलिनसँग मित्रता भएपछि ठगीबाट प्राप्त रकमबाट सात करोड भारतीय रुपैयाँभन्दा बढी खर्च गरेका थिए। उनलाई विलासी ब्याग, हिराका गरगहना, महँगा घोडा र बिरालोलगायतका उपहार दिएको आरोप छ। यही प्रकरणमा सम्पत्ति शुद्धीकरणको कसुरमा ज्याकलिनलाई पनि आरोपित बनाइएको हो।

अनुसन्धानअनुसार, सन् २०२०–२१ को अवधिमा दिल्लीको रोहिणी जेलबाटै सुकेशले ठगी तथा असुलीको सञ्जाल सञ्चालन गरेका थिए। जेलभित्रै बसेर आफूलाई सरकारी अधिकारीका रूपमा परिचय दिँदै विभिन्न व्यक्तिलाई प्रभावमा पार्ने र रकम असुल्ने गरेको आरोप उनीमाथि छ।

सम्बन्धित पोस्टहरुः