माइतीघरमा वीरगञ्जका सडक पीडितको प्रदर्शन

1200x150_1200x150-01.jpg (1)

वीरगञ्ज- त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जको मुख्य सडक क्षेत्रमा रहेका घरधनी तथा व्यापारीहरू आफ्नो सम्पत्ति र आवासको अधिकार संरक्षणको माग गर्दै आन्दोलनमा उत्रिएका छन्। सडक विस्तारका क्रममा आफूहरूमाथि अन्याय भएको दाबी गर्दै वीरगञ्जका पीडितहरूले आइतबार काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।

‘वीरगञ्ज मुख्य सडकवासी पीडित समिति’को अगुवाइमा दिउँसो करिब २ बजे भेला भएका प्रदर्शनकारीहरूले सर्वोच्च अदालत र नेपाल सरकारसँग न्याय, समान कानुनी व्यवहार तथा उचित मुआब्जा र क्षतिपूर्तिको माग गरेका छन्। वीरगञ्जबाट काठमाडौँ पुगेका घरधनी राजेश सौनियार, जवाहीर प्रसाद गुप्ता, कुन्दन रौनियारलगायतले विभिन्न माग लेखिएका ब्यानर र प्लेकार्डसहित प्रदर्शनमा सहभागिता जनाएका थिए।

प्रदर्शनकारीहरूको मुख्य असन्तुष्टि त्रिभुवन राजमार्गअन्तर्गत काठमाडौँ–हेटौँडा खण्ड र वीरगञ्ज खण्डमा सर्वोच्च अदालतबाट फरक–फरक प्रकृतिका फैसला आएको भन्ने विषयमा केन्द्रित छ। एउटै राजमार्गमा पर्ने क्षेत्रका लागि सडक सीमा तथा विस्तारसम्बन्धी फरक मापदण्ड अपनाइनु विभेदकारी भएको उनीहरूको आरोप छ।

माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले ‘न्याय देऊ, न्याय देऊ’ र ‘नेपाल सरकार, वीरगञ्जवासीलाई न्याय र क्षतिपूर्ति देऊ’ लगायतका नारा लगाउँदै राज्यको ध्यानाकर्षण गराएका थिए।

सम्बन्धित पोस्टहरुः