वीरगन्ज,१६कात्तिक:रौतहटमा प्रहरीले स्रोत खुल्न नसकेको १० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेकाे छ।बौधीमाई नगरपालिका वडा नम्बर ७ बंकुलस्थित बंकुल–नरकटिया सडकखण्डबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेकाे हाे।
पक्राउ पर्नेमा भारतको बिहार राज्यकाे मोतिहारी जिल्लाकाे घोडसहनका अन्दाजी ३३ वर्षीय टुना दास रहेका छन्।
आइतबार दिउँसो करिब १२:२० बजेको समयमा बाराबाट रौतहटतर्फ जाँदै गरेको बीआर ०५ ए एफ ३७८७ नम्बरको भारतीय मोटरसाइकललाई प्रहरी चौकी बंकुलबाट प्रहरी सहायक निरीक्षक रमेश यादवको कमाण्डमा खटिएको गस्ती टोलीले शंका लागेर जाँच गर्ने क्रममा मोटरसाइकलको फिल्टरमा लुकाइछिपाई राखिएको उक्त रकम बरामद गरेकाे हाे।बरामद रकममा एक हजार रुपैयाँ दरका ५९३ थान र पाँच सय रुपैयाँ दरका ८१४ थान नोट रहेका छन् ।
बरामद उक्त रकम, मोटरसाइकल र मोटरसाइकल चालक दासलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ।






