सशस्त्र प्रहरीद्वारा सात महिनामा १ अर्ब ३३ करोडको अवैध सामग्री बरामद

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक १६  —

सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने सरकारको नीतिअनुसार सशस्त्र प्रहरी बल, नेपालले अवैध ओसारपसार, लागूऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्ध कारबाही तीव्र पारेको छ ।

सशस्त्र प्रहरीका अनुसार २०८२ चैत १३ देखि २०८३ कार्तिक १२ गतेसम्मको अवधिमा सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरिएको छ ।

यस अवधिमा १७ नाल अवैध हातहतियार बरामद हुनुका साथै आठ जना पक्राउ परेका छन् । लागूऔषध कारोबारमा संलग्न ४२१ जना पक्राउ परेका छन् । उनीहरूबाट गाँजा, चरेस, अफिम, खैरो हेरोइन तथा विभिन्न ट्याब्लेट र इन्जेक्सन बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परेका १६७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ११८ जना बालबालिका छन् भने यसमा संलग्न ९१ जना पक्राउ परेका छन् ।

सीमा अतिक्रमण नियन्त्रणका क्रममा दशगजाका ३५ स्थानमा रहेका २३७ वटा संरचना हटाइएको छ । त्यस्तै, १७ स्थानको ७.४४८ बिघा जग्गाबाट खेतीपाती हटाइएको र २०४ स्थानमा ९४.५८८ किलोमिटर क्षेत्र सरसफाइ गरिएको छ ।

सीमावासीसँगको सम्बन्ध र जनचेतना अभिवृद्धिका लागि २ हजार ८०६ कार्यक्रम सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ । यस अवधिमा १४१ सहायता कक्षबाट ३ लाख ४९ हजार ९०८ जना र १३ पर्यटक सहायता कक्षबाट १० हजार ६५४ जना लाभान्वित भएका छन् ।

सम्बन्धित पोस्टहरुः