महामारीमा संयमित भई सेवा प्रवाह गर्न मेयर सिंहको निर्देशन

1200x150_1200x150-01.jpg (1)
वीरगंज, ८ साउन । हैजाको प्रकोप फैलिने जोखिम बढिरहेको बेला वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले महानगरका सम्पूर्ण कर्मचारीलाई सतर्कतापूर्वक र संयमित भएर सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ। उहाँले अहिलेको अवस्था आत्तिने नभई संयम र धैर्यका साथ सामूहिक प्रयासद्वारा नियन्त्रण गर्न सकिने भन्दै सबै पक्षलाई हातेमालो गर्न आग्रह गर्नुभयो।
प्रमुख सिंहका अनुसार, “अहिलेसम्म डारई हाल्नुपर्ने अवस्था सिर्जना भएको छैन। महानगर हैजा नियन्त्रण उन्मुखमै छ र हामीले आवश्यक सबै उपायहरू अपनाइरहेका छौं।” उहाँले बिरामी भेटिनेबित्तिकै उपचारमा ढिलाइ हुन नदिने उद्देश्यले वीरगंजभित्रका सबै अस्पताललाई तत्कालै आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएको जानकारी दिनुभयो।
यसै क्रममा महानगरले हैजाबाट प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरूको विशेष टोली परिचालन गरेको छ। ती टोलीले प्रभावित वडाका घरघरमा पुगेर अवस्थाको प्रत्यक्ष जानकारी लिने, संभावित संक्रमितहरूको पहिचान गर्ने, आवश्यक परामर्श दिने र सरसफाइ सम्बन्धी सचेतना फैलाउने कार्यलाई तीव्रता दिएका छन्।
महानगर प्रमुखले सबै कर्मचारीलाई आफ्नो कार्यक्षेत्रमा सचेतनामूलक सन्देश फैलाउन, नागरिकलाई स्वच्छ पानी मात्र पिउन आग्रह गर्न, तरकारी तथा खाद्यपदार्थलाई राम्रोसँग धोएर पकाउन सुझाउन र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आह्वान गर्नुभयो।
यसैगरी, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले पनि हैजा नियन्त्रणलाई प्राथमिकता दिँदै प्रशासनिक संयन्त्रलाई सक्रिय बनाउन निर्देशन दिनुभयो। उहाँले सबै कर्मचारीले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिँदै महामारी नियन्त्रणमा समन्वय, सूचना आदानप्रदान र तत्कालीन उपचार व्यवस्थामा कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो।
महानगरले हैजा नियन्त्रणका लागि हेल्प डेस्क स्थापना गर्ने, जोखिमयुक्त क्षेत्रमा नियमित अनुगमन गर्ने, पानीको नमूना परीक्षण गर्ने र सरसफाइ कार्यक्रमलाई अझ प्रभावकारी बनाउन कदम चालेको जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः