चुनाव चिन्ह भएका टिसर्ट होलीमा प्रयोग नगर्न प्रशासनको आग्रह

वीरगंज, १५ फागुन ।  जिल्ला प्रशासन कार्यालय, बाराले फागु पूर्णिमा (होली) पर्वलाई मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन जिल्लाबासीमा अपिल गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईद्वारा जारी सूचनामा होली मनाउँदा निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालना गर्न उल्लेख गरिएको छ ।

होली मनाउने क्रममा कुनै पनि राजनीतिक दलको चुनाव चिन्ह, उम्मेदवारको फोटो वा निर्वाचनलाई प्रभाव पार्ने खालका लोगो अंकित टिसर्ट र प्रचार सामग्रीको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ ।  प्रशासनले होलीको दिन भिडभाड हुने कुनै पनि कार्यक्रम गर्न नपाउने जनाएको छ ।

कसैको इच्छा विपरीत रङ दल्ने, लोला हान्ने र बाटोमा हिँड्ने मानिसलाई अवरोध पुर्याउने कार्यलाई प्रशासनले निषेध गरेको छ।

पर्वका नाममा मादक पदार्थ तथा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउने (मापसे) र सार्वजनिक स्थलमा होहल्ला गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गरिनेछ। त्यसैगरी, चर्काे आवाजमा डिजे बजाउन र आतसबाजी वा पटका पड्काउन समेत रोक लगाइएको छ।

बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रशासनले सम्भव भएसम्म आफ्नो घरपरिवार र नजिकका आफन्तहरूसँग मात्र होली मनाउन र ठूला सार्वजनिक जमघटबाट टाढा रहन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयले  उल्लंघन गर्ने व्यक्ति वा समूहलाई प्रचलित कानुन र निर्वाचन सम्बन्धी कानुन बमोजिम कडा कारबाही गरिने प्रशसनले जनाएको छ। शान्ति सुरक्षा कायम राख्न जिल्लाभर सुरक्षाकर्मीको परिचालन समेत बढाइएको छ।

 

 

सम्बन्धित पोस्टहरुः