पर्सा , कार्तिक ५ –
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मधेस प्रदेश कमिटी सदस्य प्रभाकर गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।
पर्साको वीरगन्ज महानगरपालिका–१० घडिअर्वा निवासी गुप्ताले नेकपा परित्याग गरी रास्वपाको सदस्यता लिएका हुन्। उनी दुई दशकभन्दा लामो समयदेखि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको कम्युनिष्ट पार्टीमा सक्रिय राजनीतिमा थिए।
२०६१ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका गुप्ताले अखिल (क्रान्तिकारी)को नगर समिति सदस्यदेखि केन्द्रीय सचिवसम्मको जिम्मेवारी सम्हालिसकेका छन्। उनी २०६७ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रको पर्सा जिल्ला सदस्यमा मनोनित भएका थिए।
गुप्ताले नेकपाभित्र परिवारवाद, अवसरवाद र गुटगत प्रवृत्ति हाबी भएको तथा इमानदार कार्यकर्ताको मूल्यांकन नभएकाले पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरेको बताएका छन्।






