असोजमा करिब ६ अर्बको विद्युत निर्यात, बंगलादेशतर्फको आपूर्ति पुनः सुरु

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक ९ –

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत आयोजनामा क्षति पुगेर निर्यात प्रभावित भए पनि विद्युत बिक्रीबाट प्राप्त रकम गत वर्षको असोज र चालु आवको भदौको तुलनामा बढेको छ ।

प्राधिकरणका अनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत निर्यात गरिएको थियो । गत वर्षको असोजमा ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको विद्युत निर्यात भएको थियो भने चालु आवको भदौमा ५ अर्ब ९ करोड २५ लाख रुपैयाँको कारोबार भएको थियो ।

चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको प्राधिकरणले जनाएको छ । भारतमा द्विपक्षीय सम्झौता तथा भारतीय ऊर्जा विनिमय बजारमार्फत विद्युत बिक्री हुँदै आएको छ ।

यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत निर्यात कात्तिक ६ गतेदेखि पुनः सुरु भएको छ । भदौमा आएको बाढीले त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पुर्‍याएपछि निर्यात रोकिएको थियो ।

नयाँ व्यवस्थाअनुसार सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत बंगलादेश तथा भारतको हरियाणा राज्यतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको छ । प्राधिकरणका अनुसार भारततर्फ विद्युत निर्यातका लागि स्वीकृत कुल क्षमता थप ३१ मेगावाट बढेर करिब १ हजार १७९ मेगावाट पुगेको छ ।

सम्बन्धित पोस्टहरुः