पर्सा, कार्तिक ७ –
पोखरामा औषधि पसलको आवरणमा लागुऔषध कारोबार भइरहेको खुलेको छ । पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलबाट ठूलो परिमाणमा लागुऔषधजन्य औषधिका चक्की बरामद भएपछि सञ्चालिका पक्राउ परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २९ वर्षीया पसल सञ्चालिका अमिसा ढुङ्गानालाई बुधबार पक्राउ गरिएको हो । लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले पसलमा जाँच गर्दा चार प्रकारका औषधि बरामद गरेको थियो ।
प्रहरीका अनुसार पसलबाट कोडिप–पी (कोडिन) का ६ हजार ४००, प्रेगाबालिनका ४५०, लोराजेपामका १५० र क्लोर्डियाजेपोक्साइडका १६० चक्की बरामद भएका छन् । बरामद औषधिको कुल संख्या ७ हजार १६० चक्की रहेको छ ।
कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले विशेष सूचनाका आधारमा गरिएको छानबिनका क्रममा ठूलो परिमाणमा औषधि फेला परेको बताए ।
पक्राउ परेकी ढुङ्गानामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाले औषधि पसलबाट हुने औषधिको बिक्री–वितरण र नियमनमा प्रभावकारी अनुगमन आवश्यक रहेको देखाएको छ ।






