वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आउँदो स्थानीय चुनावमा रास्वपामा पार्टीको विधिसम्मत मात्र टिकट वितरण हुने बताएका छन् ।
शुक्रवार राति सांसद पन्तद्वारा आयोजित बडादशैंको शुभकामना एवं टीका कार्यक्रमलाई सम्बोधन गर्दै उनले विधिभन्दा बाहिर गएर कसैले पनि टिकट नपाउने हुनाले सबैलाई ढुक्क हुन आग्रहसमेत गरे ।
वीरगंजको क्लासिक ब्यान्क्वेटमा आयोजित शुभकामना तथा टीका कार्यक्रममा उनले पार्टीको ‘हामी आउदैछौं’ कार्यक्रमसम्बन्धी प्रसङ्गलाई जोड्दै यसपालिको चुनावमा पार्टीले ल्याएको उम्मेदवार क्लब, पोल्टिकल प्रोक्सिमिटी, प्रारम्भिक निर्वाचन र समावेशिताको अवधारणा अन्तरगत त्यस क्लबबाट प्रशिक्षित, परिक्षित र योग्य ब्यक्तिमात्र पार्टीको आधिकारिक उम्मेदवार हुने बताए ।
“कोही जिल्ला सभापतिको नजिक भएकै भरमा, प्रदेश सभापतिको नजिक भएकै आधारमा वा कुनै माननीयको नातेदार भएकै कारणले मात्र कसैले टिकट नपाउने हुँदा योग्य ब्यक्तिले बिचलित हुनुपर्ने अवस्था आउदैन”, उनले भने ।
जिल्ला संगठन विभाग प्रमुख कृष्ण पासवानले सहजीकरण गरेका उक्त शुभकामना तथा टीका कार्यक्रममा सभापति पन्तले त्यहाँ उपस्थित मान्यजनहरू बाट टीका ग्रहण गर्नुका साथै टीका तथा शुभकामना प्रदान समेत गरेका थिए ।
कार्यक्रममा तुलसा पौडेल, सुदिश प्रजापति, परबेज अखतर लगायत क्षेत्रीय सभापतिहरू, पालिका सभापतिहरू वडा सभापतिहरू लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो ।






