पर्सा , कार्तिक १२ —
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पहिलो जित हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो।
पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा चार विकेट गुमाउँदै पूरा गर्यो।
सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए। त्यस्तै इशान पाण्डेले ३७ र ब्रान्डन म्याकमुलेनले २२ रनको योगदान दिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४५ रन बनाएको थियो। पोखराका अर्जुन घर्तीले अविजित ४०, मेहदी हसनले ३२ र कप्तान कुशल भुर्तेलले २१ रन बनाए।
बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले तीन विकेट लिए भने हेमन्त धामी, स्कट कुगेलेइन र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पारे।
उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गरेको छ।
प्रतियोगिताअन्तर्गत आज जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज तथा विराटनगर किङ्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुने तालिका छ।







