वीरगंज , कार्तिक १२ —
मधेस प्रदेशमा खेलकुद क्षेत्रको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा स्थानीय तहसम्म खेलकुद गतिविधि विस्तार गर्न सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेकोमा जोड दिइएको छ।
मंगलबार कराँते प्रशिक्षक सञ्जय परियारको पदभार ग्रहण कार्यक्रममा सहभागी खेलकुदकर्मीहरूले खेलाडीको प्रतिभा पहिचान, नियमित प्रशिक्षण, प्रतियोगिता सञ्चालन तथा पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।
कार्यक्रममा पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक साह कानु, कार्यालय प्रमुख एवं जुडो प्रशिक्षक पृथ्वी आलोक, एथलेटिक्स प्रशिक्षक विशेश्वर पटेल, कुश्ती संघका अध्यक्ष पिन्टु रौनियार र सितोरियो संघका अध्यक्ष सन्तोष सर्राफलगायतको सहभागिता रहेको थियो।
सहभागीहरूले प्रदेश खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति र विभिन्न खेलकुद संघबीच सहकार्य बढाएर खेलाडीलाई आवश्यक अवसर उपलब्ध गराउनुपर्ने धारणा राखे।
खेलकुदका कार्यक्रम नियमित सञ्चालन, प्रभावकारी अनुगमन र योजनाबद्ध प्रशिक्षणमार्फत मधेस प्रदेशबाट राष्ट्रियस्तरका प्रतिभावान् खेलाडी उत्पादन गर्न सकिने विश्वास व्यक्त गरिएको छ।






