वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका–१, छोट्की पिडारीमा व्यवस्थित छठघाट निर्माण कार्य सुरु गरिएको छ।
बुधबार गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले हिन्दु धार्मिक परम्पराअनुसार पूजापाठ गरी छठघाट निर्माण कार्यको शिलान्यास गरेका हुन्।
गाउँपालिकाको आफ्नै १० लाख रुपैयाँको बजेटबाट छठघाट निर्माण गर्न लागिएको हो। छोट्की पिडारीका स्थानीय हिन्दु धर्मावलम्बीलाई छठ पर्व मनाउन सहजता प्रदान गर्ने उद्देश्यले व्यवस्थित घाट निर्माण गर्न थालिएको अध्यक्ष यादवले बताए।
उनले छठ पर्वले धार्मिक आस्था, संस्कृति र सामाजिक एकतालाई बलियो बनाउने उल्लेख गर्दै स्थानीयवासीलाई सहज रूपमा पर्व मनाउन आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताए।
छठघाट शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बबिता सिंह क्षेत्री, वडा नम्बर १ का वडाध्यक्ष लक्ष्मी साह तेलीलगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।






