झापा , कार्तिक १२ —
हुलाकी राजमार्गअन्तर्गत कन्काइ पुल निर्माण १४ वर्षसम्म अलपत्र पारेको पप्पु–महादेव खिम्ती संयुक्त उपक्रम (जेभी)सँग करिब २ अर्ब रुपैयाँ असुल गर्ने प्रक्रिया अघि बढाइएको छ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले निर्माण कम्पनीलाई १ अर्ब ९९ करोड १२ लाख ५८ हजार ७७५ रुपैयाँ सरकारी राजस्व खातामा दाखिला गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको जनाइएको छ।
तोकिएको अवधिमा रकम नबुझाए कम्पनीको चल–अचल सम्पत्ति रोक्का गरी सरकारी बाँकीसरह असुल गरिने सूचनामा उल्लेख छ। कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा समेत राखिएको छ।
२०६८ सालमा ठेक्का सम्झौता भएको ७२३ मिटर लामो पुल पाँच पटक म्याद थप्दा पनि ५६ प्रतिशत मात्रै निर्माण भएपछि ठेक्का रद्द गरिएको थियो।
पुल अलपत्र हुँदा झापा र गौरीगञ्ज गाउँपालिकाका स्थानीय बासिन्दा वर्षौंदेखि जोखिमपूर्ण रूपमा कन्काइ नदी वारपार गर्न बाध्य छन्।







