जनकपुरधाम , कार्तिक १४ —
अल्पमतमा परेका मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन्। नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका यादवले विश्वासको मतको पक्ष वा विपक्षमा जस्तोसुकै परिणाम आए पनि स्वीकार गर्ने स्पष्ट पारेका छन्।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वासको मत लिने समय बाँकी रहेकाले विभिन्न राजनीतिक दलसँग औपचारिक तथा अनौपचारिक छलफल भइरहेको बताए। राजनीतिक परिस्थिति आफ्नो पक्षमा आउन सक्ने आशा व्यक्त गर्दै उनले भने, ‘जबसम्म सास छ, तबसम्म आश गर्नुपर्यो नि।’
एमालेले सरकार छाड्नुको कारण १५ बुँदे सहमति कार्यान्वयन नभएको विषयलाई बनाएको उल्लेख गर्दै मुख्यमन्त्री यादवले सहमतिका केही बुँदा कार्यान्वयन भइसकेको र केही प्रक्रियामा रहेको दाबी गरे। उनले नयाँ गठबन्धन बन्ने र फेरिने प्रक्रियालाई सामान्य रूपमा लिएको पनि बताए।
मुख्यमन्त्री यादवले प्रदेश सरकारको भविष्यबारे पार्टीको केन्द्रीय नेतृत्वसँग नियमित सम्पर्कमा रहेको जानकारी दिँदै आफू विश्वासको मत प्राप्त हुनेमा आशावादी रहेको बताए।
गत असोज ३० गते एमाले तीनदलीय गठबन्धनबाट बाहिरिएपछि मधेस प्रदेश सरकार अल्पमतमा परेको हो। नेपाली कम्युनिस्ट पार्टीले भने सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले कात्तिक २९ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ।
१०७ सदस्यीय मधेस प्रदेशसभामा विश्वासको मतका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक छ। कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन्। वर्तमान अंकगणितका आधारमा मुख्यमन्त्री यादवका लागि विश्वासको मत जुटाउनु चुनौतीपूर्ण देखिएको छ।






