अमलेखगञ्जमा ट्यांकर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

1200x150_1200x150-01.jpg (1)

बारा , कार्तिक १३ —

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जमा डिजेल बोकेको ट्यांकर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।

शुक्रबार दिउँसो करिब १२ बजे नेपाल आयल निगमको डिपो नजिक पथलैया–हेटौंडा सडकखण्डमा दुर्घटना भएको हो। प्रहरीका अनुसार अमलेखगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको ट्यांकरमा वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ग.२ ख १९९३ नम्बरको ईभी हाइस ठोक्किएको थियो। त्यसपछि हाइसको पछाडि रहेको अनटेस्ट मोटरसाइकलसमेत दुर्घटनामा परेको थियो।

दुर्घटनामा ट्यांकर चालक चेतनाथ खरेलसहित १० जना घाइते भएका छन्। घाइतेमध्ये ईभी चालक आशिष मल्ल, वीरगंज महानगरपालिका–२ की समिना खातुन र उनकी छोरी सखीना खातुनसहित विभिन्न स्थानका यात्रु तथा मोटरसाइकल चालक रहेका छन्।

घाइतेहरूको अमलेखगञ्जस्थित नोभाकेयरमा उपचार भइरहेको छ। प्रहरीका अनुसार सबै घाइतेको अवस्था सामान्य छ। उनीहरूको हात, खुट्टा, टाउको र आँखालगायत शरीरका विभिन्न भागमा चोट लागेको छ।

दुर्घटनापछि ईभी हाइस सडकमा चल्न नसक्ने अवस्थामा पुगेपछि केही समय सडक एकतर्फी सञ्चालन गरिएको थियो। प्रहरीका अनुसार दिउँसो १ बजेर ५५ मिनेटदेखि सडकमा दुईतर्फी आवागमन पुनः सञ्चालन गरिएको छ।

दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः