मधेशमा नयाँ सरकार गठनका लागि तीन दलबीच छलफल

1200x150_1200x150-01.jpg (1)

जनकपुरधाम , कार्तिक १३ —

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच राजनीतिक छलफल सुरु भएको छ। नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई एमालेले समर्थन फिर्ता लिएपछि तीन दल नयाँ सत्ता समीकरण बनाउने प्रयासमा जुटेका हुन्।

जनमत पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशप्रसाद यादवले तीन दलबीच नयाँ सरकार गठनबारे छलफल भइरहेको जानकारी दिएका छन्। तर, सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति भइनसकेको उनको भनाइ छ।

एमाले संसदीय दलका नेता सरोजकुमार यादवले पनि जसपा नेपाल र जनमत पार्टीका नेताहरूसँग संवाद भइरहेको बताएका छन्। चाडपर्व सकिएपछि छलफललाई निष्कर्षमा पुर्‍याउने उनको भनाइ छ।

नयाँ सरकारको नेतृत्वमा तीनवटै दलले दाबी गर्दै आएका छन्। प्रदेशसभाको सबैभन्दा ठूलो दल जसपाले नेतृत्व आफूले पाउनुपर्ने अडान राखेको छ। जसपा संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार तीन दलका अध्यक्षबीच केन्द्रबाटै नेतृत्वको विषयमा सहमति जुटाउने समझदारी भएको छ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक छ। प्रदेशसभामा एमालेका २३, जसपाका २७ र जनमतका १२ सांसद छन्। यी तीन दलको कुल संख्या ६२ पुग्छ। त्यस्तै, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५ तथा संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः