पर्सा , कार्तिक १३ —
सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का विवादका बीच सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजना निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा बुझाएको छ।
प्रहरी उच्च स्रोतका अनुसार रजौरियालाई सिरहा र रिजाललाई सिन्धुलीबाट नियन्त्रणमा लिइएको हो। प्रधानमन्त्री कार्यालयबाट दुवै जनालाई नियन्त्रणमा लिएर ल्याउन निर्देशन आएपछि प्रहरीले सोहीअनुसार गरेको स्रोतको भनाइ छ। उनीहरूलाई प्रहरी हिरासतमा भने राखिएको छैन।
आयोजनाको ठेक्का प्रक्रियासँग सम्बन्धित विषयमा उनीहरूलाई नियन्त्रणमा लिइएको हुनसक्ने अनुमान गरिएको छ। गत वर्ष कात्तिकमा अन्तरिम सरकारको पालामा सिँचाइ विभागले पटेल–रमण जेभीसँगको ठेक्का सम्झौता रद्द गरेको थियो।
ठेक्का तोडिएपछि आयोजनाको काम अघि बढ्न सकेको छैन। अहिले नयाँ ठेक्का प्रक्रिया चलिरहेका बेला विभागका महानिर्देशक र आयोजना निर्देशकलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा बुझाइएपछि यस घटनालाई चासोका साथ हेरिएको छ।






