वीरगंज, ४ भदौ । जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना महिलालाई पक्राउ गरेको जनाएको छ । नेपालको कास्की, झापा, काठमाण्डौ, धादिङ, चितवन, बाग्लुङ र मकवानपुर लगायतका जिल्लाहरूबाट सर्वसाधारण महिला तथा बालिकाहरूलाई राम्रो काम लगाइ दिने, नयाँ–नयाँ लत्ताकपडाहरू खरिद गरिदिने, विवाहको प्रलोभनमा पार्ने र पैसा दिने जस्ता बिभिन्न किसिमका प्रलोभन देखाई ललाई फकाई गरी मानव बेचबिखन तथा ओसार पसार जस्तो गम्भीर अपराधजन्य घटनाहरू भइरहेको सूचनाको आधारमा प्रहरी टोलीले भदौ ३ गते दिउँसो २ बजे पर्सा वीरगंज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेटबाट प्रहरीले जिल्ला गोरखा, गोरखा नगरपालिका वडा नं.४ बस्ने वर्ष २८ की सरिता सिर्मललाई पक्राउ गरेको जनाएको छ । तीन जना महिलाहरूलाई हेटौडाबाट गाडी चढाइ बीरगंजमा ल्याइ वीरगंजबाट अटोमा भारतको रक्सौल लाने क्रममा प्रहरीले सिर्मललाई पक्राउ गर्नुका साथै महिलाहरुको उद्धार गरिएको जिप्रका, पर्साले जनाएको छ । सरिता सिर्मललाई मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box