वीरगंज, १५ असोज । वीरगंजको अष्टमीका दिन लागेको मेलामा गीता मन्दिर नजिकै दुर्ई समुहबीच भएको भिडन्तमा परी शिवम साह कानूको मृत्यु भएको छ । वीरगंज–११ रानीघाट निवासी शिवम साह कानुको वीरगंजको मेलामा मंगलवार राति वीरगंजको गीता मन्दिर नजिक धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो। उनको उपचारका लागि वीरगंजस्थित नारायणी अस्पताल लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार दुर्ई समूहबीचको झगडामा शिवम गम्भीर घाइते भएका थिए र अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जानकारी दिनुभयो। गम्भीर घाइते भएका शिवमलाई अस्पताल ल्याउँदा बाटोमै मृत्यु भइसकेको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिनुभयो। शिवमको देब्रे तथा दाहिने घाटी, पिठ्युँ, छातीलगायतका स्थानमा गहिरो चोट लागेको र ती घाउका कारण अत्यधिक रक्तस्राव भई मृत्यु भएको हुन सक्ने उहाँले आशंका व्यक्त गर्नुभयो। हत्यामा संलग्न भएको आशंकामा ६ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको डिएसपी बस्नेतले जानकारी दिनुभयो। गीता मन्दिरको पूर्वतर्फ रहेको सडक छेउमा नम्बर बोर्डको जुवा खेलाइँदै आएकोमा विवाद उत्पन्न भई दुर्ई समूहबीच झडप भएको र सोही झडपमा परी शिवमको मृत्यु भएको समाचार स्रोतको दावी छ । मुम्बईमा काम गर्दै आएका मृतक शिवम चार महीना अघि श्रीमतीसंग वीरगंज आएका थिए । घटस्थापनाकै दिन शिवमकी श्रीमतीले छोरो जन्माएकी थिइन । नौ दिने छोराका पिता भएका शिवमलाई उनका दुर्ई साथीले मंगलवार साँझ मेला देखाउन लगेका उनकी श्रीमतीले जानकारी दिएकी छन् । यसैगरी शिवमका दाइ सत्यमको करीब एकहप्ता अगाडि दूधमा विष हालेर साथीसँगै हत्या गरिएको परिवारका सदस्यहरूलेजानकारी दिएका छन। सत्यमलाई वीरगंज–२४ रामगढवा निवासी साथीसँगको योजनामा विष मिश्रित दूध खुवाएर हत्या गरिएको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दिइए पनि हालसम्म कुनै कारबाही नभएको गुनासो परिवारका सदस्यहरूले गरेका छन।
Facebook Comments Box