विराट मेडिकल कलेजले ११ घण्टाको विद्युत् अवरोधपछि १.१३५ मेगावाटको सोलार जडान गर्ने

1200x150_1200x150-01.jpg (1)

विराटनगर असोज २९ –

लगातार ११ घण्टा विद्युत् अवरुद्ध भएपछि विराट मेडिकल कलेज तथा टिचिङ हस्पिटलले आफ्नै सौर्य ऊर्जा प्रणाली जडान गर्ने भएको छ। अस्पतालले १ हजार १३५ किलोवाट (पिक) क्षमताको सोलार परियोजना अघि बढाएको हो।

बिजमाण्डूका अनुसार, मोरङको टंकिसिनवारीस्थित अस्पतालमा एक दिन ११ घण्टासम्म बिजुली नआएपछि १० वटा जेनेरेटर लगातार चलाउनुपरेको थियो। अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीका अनुसार, नौ घण्टासम्म जेनेरेटर चल्दा तात्न थालेपछि संवेदनशील वार्डमा उपचाररत बिरामीको सुरक्षाबारे चिन्ता बढेको थियो। त्यस दिन साँझ ७ बजे विद्युत् आपूर्ति पुनः सुरु भएको उनले बताएका छन्।

अस्पतालले हाल आकस्मिक सेवा सञ्चालनका लागि ३०० किलोवाट क्षमताको रुफटप सोलार प्रयोग गरिरहेको छ। नयाँ परियोजनाबाट ९६० किलोवाट (एसी) बराबर विद्युत् उत्पादन हुने अनुमान छ। यसका लागि अस्पताल परिसर नजिकैको आफ्नै जग्गामा सोलार प्लान्ट निर्माण गरिनेछ र उत्पादित विद्युत् अस्पतालसम्म ल्याउन करिब दुई किलोमिटर लामो ११ केभी प्रसारण लाइन बनाइनेछ।

ऊर्जा ग्लोबल प्रालिले ईपीसी मोडेलमा निर्माण गर्ने परियोजनामा सम्पूर्ण लगानी अस्पतालकै रहनेछ। कम्पनीका प्रमुख व्यवसाय अधिकृत मधुकर दाहालका अनुसार, परियोजना सञ्चालनमा आएपछि अस्पतालको वार्षिक विद्युत् खर्च करिब दुई करोड रुपैयाँले घट्ने अपेक्षा गरिएको छ। छठपछि निर्माण सुरु गरी सन् २०२७ जनवरीदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

अस्पतालले दोस्रो चरणमा थप ३०० देखि ४०० किलोवाट क्षमताको सोलार विस्तार गर्ने योजना पनि बनाएको छ। विस्तार पूरा भए अस्पतालको कुल सौर्य ऊर्जा क्षमता १.८ मेगावाटभन्दा बढी पुग्ने अपेक्षा गरिएको छ।

स्रोत:

सम्बन्धित पोस्टहरुः