एनपिएल सिजन–३ मा वार्नर, रसेल र शाकिबजस्ता स्टार, पहिलोपटक डीआरएस पनि

1200x150_1200x150-01.jpg (1)

पर्सा , कात्तिक ८ —

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। यसपटक विश्वचर्चित विदेशी खेलाडीको सहभागिता, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आधिकारिक मान्यता र पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग हुने भएपछि प्रतियोगिता थप आकर्षक बनेको छ।

एनपिएलमा अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, दक्षिण अफ्रिकाका डेभिड मिलर र बंगलादेशका शाकिब अल हसनजस्ता चर्चित खेलाडी मैदानमा उत्रनेछन्। वार्नर काठमाडौं गोर्खाज, रसेल विराटनगर किङ्स, मिलर कर्णाली याक्स र शाकिब पोखरा एभेन्जर्सबाट खेल्नेछन्।

त्यस्तै, जनकपुर बोल्ट्समा मोइन अली र जिमी निसम, चितवन राइनोजमा सिकन्दर राजा तथा सुदूरपश्चिम रोयल्समा शेरफेन रदरफोर्ड आबद्ध छन्। आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

एनपिएलका खेलले पाए आईसीसीको मान्यता

एनपिएलको तेस्रो संस्करणले पहिलोपटक आईसीसीको आधिकारिक मान्यता पाएको छ। यससँगै प्रतियोगितामा खेलाडीले बनाएका रन, लिएका विकेट र खेलेका खेल आधिकारिक टी–२० करियर तथ्यांकमा समावेश हुनेछन्। यसले नेपाली खेलाडीको प्रदर्शनलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसपटक विदेशी खेलाडीको अनुबन्धमा पनि थप सहजता भएको छ। टोलीमा ६ देखि ८ जनासम्म विदेशी खेलाडी राख्न सकिने भए पनि प्लेइङ–११ मा बढीमा चार विदेशी खेलाडी मात्रै राख्न पाइनेछ। साथै, एसोसिएट सदस्य राष्ट्रका कम्तीमा एक खेलाडीलाई प्लेइङ–११ मा समावेश गर्नुपर्ने व्यवस्था छ।

पहिलोपटक डीआरएस प्रयोग

एनपिएलको यस संस्करणमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग गरिनेछ। यसबाट अम्पायरका निर्णयलाई प्रविधिको सहायताले पुनरावलोकन गर्न सकिनेछ। एलबीडब्लू, ब्याटमा बल लागेको वा नलागेको अवस्था, रनआउट, स्टम्पिङ र फ्रन्टफुट नोबलजस्ता निर्णयमा प्रविधिको प्रयोग हुनेछ। प्रत्येक टोलीले एक इनिङ्समा दुईवटा असफल रिभ्यु लिन पाउने व्यवस्था छ।

डीआरएस लागू गर्न करिब डेढदेखि दुई करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) र आठवटै फ्रेन्चाइजले खर्च साझेदारी गर्नेछन्। प्रविधिका कारण खेलमा थप समय लाग्न सक्ने भएकाले साँझका खेल यसअघि निर्धारित ४:३० बजेभन्दा आधा घण्टा ढिलो अर्थात् ५ बजे सुरु हुनेछन्।

खेलाडी र दर्शकका लागि थप सुविधा

प्रतियोगिताका लागि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा करिब दुई हजार थप सिट जडान गरिएको छ। आयोजकका अनुसार एनपिएलको पहिलो खेलका सबै टिकट बिक्री भइसकेका छन्।

प्रतियोगिता नोभेम्बर २१ अर्थात् मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। लिग चरणपछि शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन्। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो। अघिल्ला दुई संस्करणमा उपविजेता बनेको सुदूरपश्चिम रोयल्स यसपटक पनि उपाधिको दाबेदारका रूपमा रहनेछ।

विश्वचर्चित खेलाडीको सहभागिता, आईसीसीको मान्यता र डीआरएस प्रविधिको प्रयोगले एनपिएलको तेस्रो संस्करणलाई नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय पहिचानका दृष्टिले महत्त्वपूर्ण बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्टहरुः