धनुषा, कात्तिक ८ —
धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मिथिला बिहारी नगरपालिका–४ भरतपुरका ३५ वर्षीय उमेश यादवले ३० वर्षीया श्रीमती रीनादेवी यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्। त्यसपछि उनी ससुराली घरबाट करिब एक किलोमिटर टाढा रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।
प्रहरीका अनुसार उमेश केही महिनाअघि वैदेशिक रोजगारीबाट फर्किएका थिए। त्यसयता दम्पतीबीच निरन्तर विवाद हुँदै आएको थियो। विवादकै कारण रीनादेवी डेढ महिनाअघि चार वर्षीय छोरालाई लिएर माइतीघरमा बस्दै आएकी थिइन्।
शनिबार साँझ उमेश ससुराली पुगेका थिए। मध्यरातमा पुनः विवाद भएपछि उनले श्रीमतीमाथि धारिलो हतियार प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
घटनामा उनीहरूका चार वर्षीय छोरा पनि धारिलो हतियार प्रहारबाट घाइते भएका छन्। बालकको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुवै मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।






