पर्सा , कार्तिक १२ —
मोरङको कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ। सबस्टेसन सञ्चालनको तयारीस्वरूप कात्तिक १४ र १५ गते विद्युत् लाइन जडान तथा परीक्षण गरिने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार दुवही–दमक १३२ केभी प्रसारण लाइनलाई सबस्टेसनमा जोड्न दुवै दिन बिहान ४ बजेदेखि मध्याह्न १२ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिनेछ।
यस अवधिमा झापा, इलाम, पाँचथर र ताप्लेजुङका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी र पथरी आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ।
करिब एक अर्ब रुपैयाँ लागतमा निर्माण भएको सबस्टेसनको कुल क्षमता १४८.५ एमभिए रहेको छ। आयोजनामा नेपाल सरकार, विद्युत् प्राधिकरण र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण लगानी रहेको छ।
सबस्टेसन सञ्चालनमा आएपछि मोरङसहित आसपासका क्षेत्रमा विद्युत् आपूर्ति थप भरपर्दो र गुणस्तरीय हुने अपेक्षा गरिएको छ।







