एजेन्सी , कार्तिक १२ —
साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न एक अर्ब अमेरिकी डलर दिने प्रस्ताव गरेको दाबी इजरायली सञ्चारमाध्यमले गरेका छन्। यद्यपि, उक्त प्रस्ताव र रकम हस्तान्तरणको स्वतन्त्र पुष्टि भएको छैन।
रिपोर्टअनुसार साउदी रक्षामन्त्री राजकुमार खालिद बिन सलमान इरानको मध्यस्थतामा युद्धविरामबारे छलफल गर्न तेहरान पुगेका थिए। वार्तामा इरान, टर्की र पाकिस्तानका उच्च अधिकारीहरूको समेत सहभागिता रहेको बताइएको छ।
साउदी अरेबियामाथि भइरहेका आक्रमण रोक्ने र क्षेत्रीय तनाव कम गर्ने उद्देश्यले वार्ता अघि बढाइएको जनाइएको छ।
साउदी विदेश मन्त्रालयले रक्षामन्त्रीको भ्रमण तनाव न्यूनीकरण, संवाद र कूटनीतिक समाधानलाई प्रोत्साहन गर्ने उद्देश्यले भएको जनाएको छ।
यसअघि भएको समझदारीअनुसार हुथी नियन्त्रित क्षेत्रमा कर्मचारीको तलब र पूर्वाधार पुनर्निर्माणका लागि आर्थिक सहायता उपलब्ध गराउने विषयमा समेत विवाद रहेको बताइएको छ।
इरान, अमेरिका र इजरायलबीच तनाव बढिरहेका बेला भएको यस वार्तालाई क्षेत्रीय कूटनीतिक प्रयासका रूपमा हेरिएको छ। तर एक अर्ब डलर दिने प्रस्तावबारे साउदी पक्षबाट आधिकारिक पुष्टि भएको छैन।







