वीरगंज , कार्तिक १२ —
भारतको रक्सौलमा स्वास्थ्य विभागले अल्ट्रासाउन्ड केन्द्रहरूको आकस्मिक अनुगमन सुरु गरेपछि सञ्चालकहरूबीच हलचल मच्चिएको छ । अनुगमनका क्रममा केही केन्द्र बन्द अवस्थामा भेटिएका छन् भने केहीमा ताला लागेको पाइएको छ ।
स्वास्थ्य विभागको निर्देशनमा मेडिकल अफिसर डा. अमितकुमार जायसवाल र डा. शमीम अख्तरको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरी विभिन्न केन्द्रमा जाँच सुरु गरिएको हो ।
अनुगमनको दायरामा सत्यम अल्ट्रासाउन्ड, केके रिलायन्स, केडी अल्ट्रासाउन्ड, ह्याप्पी अल्ट्रासाउन्ड, शिवम अल्ट्रासाउन्ड, न्यू जनता अल्ट्रासाउन्ड, मास्टर अल्ट्रासाउन्ड र एसआरपी अस्पताललगायत रहेका छन् । कुन केन्द्रले नियम उल्लङ्घन गरेको छ भन्ने विषय भने अनुगमन प्रतिवेदन आएपछि मात्रै पुष्टि हुने विभागीय स्रोतले जनाएको छ ।
स्वास्थ्य विभागले आवश्यक दर्ता, चिकित्सक तथा प्राविधिक कर्मचारीको योग्यता, उनीहरूको नियमित उपस्थिति र पीसीपीएनडीटी कानुनअनुसारका मापदण्ड पालना भए–नभएको जाँच गरिरहेको छ ।
केही केन्द्र अस्पताल, नर्सिङ होम तथा क्लिनिकको आडमा सञ्चालन भइरहेको र आवश्यक मापदण्ड पालना नगरेको आरोपसमेत उठेको छ । त्यस्तै, अवैध लिङ्ग परीक्षण तथा भ्रूण हत्या जस्ता गम्भीर गतिविधिको आशंकाबारे पनि जाँच भइरहेको जनाइएको छ । यद्यपि, यी आरोपको स्वतन्त्र पुष्टि भइसकेको छैन ।
रक्सौल प्राथमिक स्वास्थ्य केन्द्रका प्रभारी चिकित्सा पदाधिकारी डा. राजीव रञ्जनकुमारले विभागीय निर्देशनअनुसार टोली गठन गरी उपलब्ध सूची र मापदण्डका आधारमा अनुगमन गर्न भनिएको जानकारी दिएका छन् ।







