बिचौलिया इनमसँग होटलमा भेटेको विषयमा न्यायाधीश फुयालमाथि छानबिनको माग

1200x150_1200x150-01.jpg (1)

काठमाडौं , कार्तिक २३ —

बिचौलियाको भूमिकामा देखिएका इनम सापकोटासँग होटलमा भेटेको र मुद्दासम्बन्धी संवाद गरेको विषय सार्वजनिक भएपछि सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल विवादमा तानिएका छन्। यस घटनाबारे पूर्वन्यायाधीश तथा न्याय परिषद्का पूर्वसदस्यले छानबिन गर्नुपर्ने बताएका छन्।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले बिचौलियासँग मुद्दाको विषयमा संवाद गरी होटलमा भेट्न बोलाइएको घटना गम्भीर भएको भन्दै अनुसन्धानबाट यसको टुंगो लगाउनुपर्ने बताएका छन्। न्याय परिषद्का पूर्वसदस्य उपेन्द्रकेशरी न्यौपानेले पनि पर्याप्त आधार र प्रमाण भए न्याय परिषद्ले छानबिन गर्न सक्ने बताएका छन्।

यता, न्यायाधीश फुयालले इनम सापकोटाले आफूलाई प्रतिष्ठित व्यक्तिमार्फत भेटेको स्वीकार गरेका छन्। इनमले आफूलाई एक मित्रराष्ट्रको राजदूतको प्रतिनिधिका रूपमा नेपालमा काम गर्ने बताएको र महाभियोगबाट जोगाउन सक्ने आश्वासन दिएको फुयालको भनाइ छ।

फुयालका अनुसार सर्वोच्च अदालतका अन्य न्यायाधीश तथा प्रशासकले पनि होटल हिमालयमा इनमसँग भेट गरेका थिए। उनले इनमले प्रधानमन्त्री, प्रधानन्यायाधीश र प्रहरी महानिरीक्षकसँग सम्बन्ध रहेको बताउँदै विवादास्पद व्यक्तिको मुद्दाबारे कुरा गरेपछि शंका लागेको र आफूहरूले नै सूचना दिएर पक्राउ गर्न लगाएको दाबी गरेका छन्।

फुयालले आफूहरू दोषी देखिए अनुसन्धानको सामना गर्न तयार रहेको बताउँदै न्यायपालिका, प्रहरी प्रशासन र अन्य निकायमा प्रभाव पार्न खोजेको विषयमा सूक्ष्म अनुसन्धान गर्न आग्रह गरेका छन्। इनम सापकोटा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेको समाचारमा उल्लेख छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः