वीरगंज , कार्तिक १३ —
रौतहटका १७ वर्षीय तीव्र गतिका बलर राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आफ्नो प्रदर्शनबाट चर्चामा आएका छन्। जनकपुर बोल्ट्सबाट खेलिरहेका उनले सुरुवाती दुई खेलमै ६ विकेट लिएर आफ्नो क्षमता प्रमाणित गरेका छन्।
कर्णाली याक्सविरुद्धको डेब्यू खेलमा राहुलले पहिलो बलमै दीपक डुम्रेलाई आउट गरेका थिए। त्यस्तै, छैटौँ ओभरमा पाकिस्तानी खेलाडी हुसेन तलतलाई तीन बलमा शून्य रनमै पभेलियन फर्काए। उक्त खेलमा उनले दुई विकेट लिएका थिए।
दोस्रो खेलमा काठमान्डु गोर्खाजविरुद्ध राहुलले थप उत्कृष्ट प्रदर्शन गरे। उनले साम हिजलेट, स्मित पटेल, करण केसी र आदिल आलमलाई आउट गर्दै चार विकेट लिए। उनको प्रदर्शनसँगै जनकपुरले काठमान्डुलाई आठ विकेटले पराजित गर्यो। राहुल खेलको प्लेयर अफ द म्याचसमेत घोषित भए।
काठमान्डु गोर्खाजका मेन्टर तथा क्रिकेट निर्देशक शरद भेषावकरले राहुलको गति र फरक बलिङ एक्सनको प्रशंसा गरेका छन्। जनकपुरका इंग्ल्यान्डका अलराउन्डर मोइन अलिले पनि उनको बलिङबाट प्रभावित हुँदै राहुल भविष्यमा श्रीलंकाका तीव्र गतिका बलर लसिथ मलिङ्गाजस्तै बन्न सक्ने बताएका छन्।
राहुल रौतहटको चन्द्रपुर क्रिकेट एकेडेमीमा नियमित अभ्यास गर्दै आएका खेलाडी हुन्। जनकपुर बोल्ट्सले आयोजना गरेको ट्यालेन्ट हन्टमा सहभागी ४४६ खेलाडीमध्येबाट उनी छनोट भएका थिए। आइकोनिक खेलाडीका रूपमा टोलीमा स्थान बनाएका राहुलले पहिलो खेलमै अवसर पाएका थिए।
पहिलो खेलमा केही नर्भस भए पनि डेब्यू बलमै विकेट लिएपछि आत्मविश्वास बढेको राहुल बताउँछन्। कप्तान र प्रशिक्षकले आफूलाई विश्वास गरेर अवसर दिएको भन्दै उनले आगामी खेलहरूमा पनि राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।






