पर्सा , कार्तिक १३ —
सरकारका निर्देशन पटक–पटक उल्लंघन गरेको आरोपमा गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि संस्थाको निलम्बन गरिएको जनाएको हो।
राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) अनुसार निलम्बनको निर्णय गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार एन-प्याब्सनले दफा ५ बमोजिम जारी निर्देशनहरू पालना नगर्नुका साथै संस्थाका पदाधिकारीबाट स्वीकृत विधान र संगठनको मूल उद्देश्यविपरीत गतिविधि भएको पाइएको छ।
यसअघि मन्त्रालयले २०८३ असोज २३ गते सरोकारवालासँग छलफल गरी ऐन तथा २०८२ मंसिर १२ गते जारी निर्देशनअनुसार काम गर्न आग्रह गरेको थियो। तर, त्यसको पालना नभएपछि निलम्बनको निर्णय लिइएको मन्त्रालयको भनाइ छ।
मन्त्रालयले अब एन-प्याब्सनको नाममा कुनै समूह वा गुटले गतिविधि गरे गैरकानुनी हुने स्पष्ट पारेको छ। त्यस्ता गतिविधिमा संलग्न हुनेलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।







