रौतहट , कार्तिक १३ —
रौतहटको फतुवा विजयपुर नगरपालिका–११ स्थित राङ्गी टोलमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन्।
बिहीबार साँझ करिब ६ः३० बजे दुधिअवा–बालचनपुर सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। दुधिअवाबाट बालचनपुरतर्फ जाँदै गरेको ना.२ त ४७८६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक गुजरा नगरपालिका–४ पोखरभिन्डाका ३५ वर्षीय प्रहरी जवान सुभाष चौधरी र पछाडि सवार उनकी ३० वर्षीया श्रीमती प्रहरी जवान निशा खड्का घाइते भएका थिए। दुवैलाई उपचारका लागि वीरगंजस्थित बयोधा अस्पताल लगिएको थियो।
उपचारका क्रममा बिहीबार राति ८ः१० बजे चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए। उनकी श्रीमती निशाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
मृतक चौधरी बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।






