वीरगंज, १२ असार । नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले एमाले नेतृत्व सरकारले कांग्रेसलाई कमजोर बनाउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । बिहीवार वीरगंजमा नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महरले वर्तमान सत्ता गठबन्धन नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सात बुँदे सहमतिको आधारमा गठन भएको सरकार जनतामाझ कुनै सकारात्मक प्रभाव नपारेको बताए । नेका शिक्षा विभाग प्रमुख समेत रहेका महरले सरकारले जनतामा उत्साह जगाउने खालका कुनै पनि काम नगरेको हुँदा कांग्रेस पार्टी समेत बदनाम भइरहेको र यसको असरले पार्टी कमजोर बन्दै गएको बताए । महरले १५औं महाधिवेशन तोकिएको समयमा नहुने सम्भावना रहेको र नेतृत्वले पनि महाधिवेशनप्रति गम्भीर चासो नदेखाएको भन्दै सशक्त दबाब सिर्जना गर्न कार्यकर्ता र नेताहरूलाई आहवान गरे । पत्रकार सम्मेलनमा वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, प्रेस युनियनका केन्द्रिय सदस्य श्रीराम रायमाझी लगायतको उपस्थिति थियो । प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार प्रह्लाद चौरसियाले गरेका थिए ।
Facebook Comments Box