पर्सा , कार्तिक ९ —
पर्साका बहुदरमाई नगरपालिका र सखुवा प्रसौनी गाउँपालिकाले इन्धनमा मात्रै एक करोड १८ लाख ४२ हजार ८२० रुपैयाँ खर्च गरेका छन्। महालेखापरीक्षकको प्रतिवेदनअनुसार दुवै स्थानीय तहले इन्धन खर्च गरे पनि त्यसको व्यवस्थित अभिलेख राख्न सकेका छैनन्।
बहुदरमाई नगरपालिकाले पदाधिकारी, कार्यालय प्रयोजन तथा अन्य सुविधाका लागि ४५ लाख ६७ हजार रुपैयाँ इन्धनमा खर्च गरेको छ। नगरपालिकासँग २९ वटा मोटरसाइकल, तीनवटा सरकारी गाडी, दुईवटा ट्र्याक्टर र एउटा जेनेरेटर रहेको विवरण भए पनि कुन सवारीसाधनमा कति इन्धन खपत भयो भन्ने स्पष्ट अभिलेख उपलब्ध नगराइएको महालेखाले जनाएको छ।
त्यस्तै, सखुवा प्रसौनी गाउँपालिकाले जनप्रतिनिधि, कार्यालय, एम्बुलेन्स तथा अन्य प्रयोजनमा ७२ लाख ७५ हजार ८२० रुपैयाँ इन्धन खर्च गरेको छ। तर इन्धन प्रयोग गर्ने पदाधिकारी तथा कर्मचारीको विवरण, हेभी मेसिन सञ्चालन अवधि र इन्धन खपतको मापदण्डसमेत व्यवस्थित नभएको प्रतिवेदनमा उल्लेख छ।
महालेखाले दुवै स्थानीय तहलाई इन्धन खर्चको अभिलेख व्यवस्थित गर्न, सवारीसाधनअनुसार खपत विवरण राख्न तथा खर्चमा पारदर्शिता कायम गर्न सुझाव दिएको छ।
ठूलो रकम इन्धनमा खर्च भए पनि खपतको स्पष्ट विवरण नहुनुले स्थानीय तहको खर्च व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा कमजोरी देखिएको छ।







