जनकपुरधाम , कार्तिक १० —
छोरीले आफूले रोजेको युवकसँग कोर्ट म्यारिज गरेको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाका सभापति लक्ष्मेश्वर यादव र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रुपेश खड्काबीच विवाद देखिएको छ।
हंसपुर नगरपालिका–८ निवासी यादवले परिवारकी एक महिला सदस्य हराएको भन्दै प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए। अनुसन्धानका क्रममा ती महिलाले काठमाडौं जिल्ला अदालतबाट विवाहको नाता कायम गराइसकेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार २७ वर्षीया महिलाले २३ वर्षीय युवकसँग आफ्नै इच्छाले विवाह गरेको र त्यससम्बन्धी प्रमाणसमेत प्रस्तुत गरेकी थिइन्।
यसै विषयलाई लिएर यादवले सार्वजनिक कार्यक्रममा प्रहरी प्रशासनविरुद्ध अपमानजनक तथा आधारहीन टिप्पणी गरेको भन्दै एसपी खड्काले आपत्ति जनाएका छन्।
प्रेस विज्ञप्ति जारी गर्दै खड्काले आफूमाथि लगाइएका आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। उनले सामाजिक सञ्जालमा अपुष्ट र भ्रामक सामग्री फैलाएर प्रहरीको प्रतिष्ठामा आँच नपुर्याउन आग्रह गरेका छन्।
प्रहरीले घटनालाई तथ्य र प्रमाणका आधारमा बुझ्न आग्रह गरेको छ। यद्यपि, प्रहरीको पछिल्लो विज्ञप्तिप्रति यादवको प्रतिक्रिया भने सार्वजनिक भएको छैन।






