वीरगंज , कात्तिक १० —
प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले वीरगंजस्थित सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी (आईसीपी) को स्थलगत अनुगमन गरेका छन्।
मंगलबार भएको अनुगमनका क्रममा उनीहरूले बन्दरगाहको भौतिक पूर्वाधार, व्यवस्थापन, रेल सञ्चालन तथा आयात–निर्यात प्रक्रियाबारे जानकारी लिएका हुन्।
अनुगमनका क्रममा बन्दरगाह सञ्चालक कम्पनीका प्रतिनिधिहरूले प्रवेशद्वार २४ सै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए। त्यसपछि सभापति गजुरेलले आवश्यक सहजीकरणका लागि भन्सार विभागका महानिर्देशकलाई अनुरोध गरेका छन्।
हाल वीरगञ्ज सुक्खा बन्दरगाहमा मासिक औसत ११० वटा मालवाहक रेल आउने गरेका छन् भने एकीकृत जाँचचौकीबाट दैनिक करिब ८०० मालवाहक सवारीसाधन आवतजावत गर्ने गरेका छन्।
सभापति गजुरेलले रेल पूर्वाधारको अधिकतम उपयोग गर्दै मालसामान ढुवानीलाई छिटोछरितो बनाउन निर्देशन दिएका छन्। विशेषगरी रासायनिक मल आयातमा हुने भन्सार प्रक्रियालाई सहज र व्यवस्थित बनाउनुपर्नेमा उनले जोड दिए।
अनुगमनका क्रममा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेललाई अन्य पूर्वाधार क्षेत्रमा समेत विस्तार गर्नुपर्ने विषयमा छलफल भएको थियो। गजुरेलले सरकारी निकाय र निजी क्षेत्रबीचको सहकार्यले बन्दरगाहको सेवा प्रवाह थप प्रभावकारी बनाउन सकिने बताएका छन्।







