वीरगंज , कार्तिक १० —
भोजपुरी भाषा र संस्कृतिको नाममा अश्लील तथा अभद्र प्रस्तुति बढ्दै गएको भन्दै पर्साका विभिन्न संघ–संस्थाले आपत्ति जनाएका छन्।
नेपाल भोजपुरी समाज, भोजपुरी प्रतिष्ठानलगायतका संस्थाले वीरगञ्जमा भोजपुरी संस्कृतिको नाममा भइरहेका केही प्रस्तुतिप्रति असन्तुष्टि जनाउँदै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका हुन्।
संस्थाहरूले भोजपुरी भाषा, साहित्य, लोककला र मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्। संस्कृतिको नाममा हुने अश्लील र अभद्र गतिविधिले भोजपुरी समाजको सांस्कृतिक पहिचानमा नकारात्मक असर पार्ने उनीहरूको भनाइ छ।
ज्ञापनपत्रमार्फत संस्थाहरूले यस्ता गतिविधिको निगरानी गरी प्रचलित कानुनविपरीतका प्रस्तुति नियन्त्रण गर्न स्थानीय प्रशासनसँग माग गरेका छन्।
भोजपुरी भाषाको मौलिकता, सांस्कृतिक मर्यादा र लोकपरम्परा जोगाउन सम्बन्धित निकाय गम्भीर बन्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।







