बारा , कार्तिक ९ —
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित चकरी क्षेत्रमा सोमबार जङ्गली हात्ती देखिएपछि स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
चकरी क्षेत्रमा देखा परेको हात्ती अमलेखगञ्ज बजारतर्फको जङ्गलमा प्रवेश गरेको जानकारी प्राप्त भएको छ। हात्ती आसपासका बस्तीमा पुनः देखिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै वडावासीलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको हो।
सम्बन्धित निकायले हात्ती देखिएमा नजिक नजान, जिस्क्याउने वा धपाउने प्रयास नगर्न आग्रह गरेको छ। हात्ती देखिएमा तत्काल ९८४५१०४०४८ नम्बरमा सम्पर्क गरी जानकारी दिन अनुरोध गरिएको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी, नेपाली सेना तथा निकुञ्जका कर्मचारीहरू तयारी अवस्थामा रहेको जनाइएको छ।
स्थानीयलाई हात्ती आफैँ नियन्त्रणमा लिन वा धपाउन खोज्नुको सट्टा सुरक्षित स्थानमा बसेर सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरिएको छ।






