पर्सा , कार्तिक १० —
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मंगलबार थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्।
संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (यूएन ईएससीएपी) द्वारा आयोजित दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनलाई मन्त्री श्रेष्ठले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ।
त्यस्तै बिहीबार आयोजना हुने ‘सगरमाथादेखि सागरसम्म’ विषयक कार्यशालामा उनले नेपालको भोटेकोशी–त्रिशूली बाढीबाट सिकिएका पाठबारे धारणा राख्नेछन्।
मन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सन्जिव महर्जनका अनुसार सम्मेलनका क्रममा विभिन्न देशका मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता हुनेछ। त्यस अवसरमा विपद् पूर्वसूचना प्रणाली, क्षेत्रीय स्याटेलाइटको निःशुल्क प्रयोग र जलवायु क्षतिपूर्तिका विषय उठाइनेछ।
भ्रमण टोलीमा मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठसहित मन्त्रालय तथा सम्बन्धित निकायका प्रतिनिधि सहभागी छन्। मन्त्री श्रेष्ठ शनिबार स्वदेश फर्किने कार्यक्रम छ।







