वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिकामा आगामी स्थानीय निर्वाचनका लागि अध्यक्ष पदका आकाङ्क्षीका रूपमा चर्चामा रहेका सन्दीप साह कानु आफ्ना बुबा तथा पूर्व गाविस अध्यक्ष गौरीशङ्कर प्रसाद साह कानुसहित नेकपा (एमाले) परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । उनीहरूको पार्टी प्रवेशसँगै स्थानीय राजनीतिमा नयाँ बहस सुरु भएको छ ।
काठमाडौँस्थित नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले उनीहरूलाई पार्टीमा स्वागत गरेका थिए । छिपहरमाई गाउँपालिकाका विभिन्न वडाका एमाले नेता तथा कार्यकर्तासमेत सामूहिक रूपमा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेको बताइएको छ ।
तर, सन्दीप साह कानु र उनका बुबाको राजनीतिक प्रवेश उनीहरूको विगतका कानुनी प्रकरणका कारण पनि चर्चामा आएको छ ।
गौरीशङ्कर प्रसाद साह कानु कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई २० वर्ष कैद सजाय भोगेर करिब तीन वर्षअघि पर्सा कारागारबाट रिहा भएका व्यक्ति हुन् । सजाय भोगेर रिहा भएपछि उनी पुनः राजनीतिक गतिविधिमा सक्रिय भएका छन् ।
यस्तै, उनका छोरा सन्दीप साह कानु पोखरिया नगरपालिकामा जिन्सी शाखा, प्रशासन तथा इन्धन वितरण शाखाको प्रमुखका रूपमा कार्यरत रहँदा अनियमितता र घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा परेका थिए । उपलब्ध विवरणअनुसार अख्तियारले २०८३ असार २५ गते उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको थियो ।
छिपहरमाई गाउँपालिकाको अध्यक्ष पदका आकाङ्क्षीका रूपमा चर्चामा रहेका सन्दीप साह कानु नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि आगामी निर्वाचनमा पार्टीले उनलाई उम्मेदवार बनाउँछ वा बनाउँदैन भन्ने विषयमा समेत चासो बढेको छ ।
राजनीतिक दलमा प्रवेश गर्नु नागरिकको अधिकार भए पनि सार्वजनिक पदका आकाङ्क्षी व्यक्तिको पृष्ठभूमि, सार्वजनिक जिम्मेवारी निर्वाह गर्दाको अभिलेख र उनीहरूसँग जोडिएका कानुनी प्रकरण निर्वाचनका बेला नागरिकको चासोका विषय बन्ने गर्छन् ।
यस अवस्थामा नेपाली कम्युनिस्ट पार्टीले स्थानीय तहका सम्भावित उम्मेदवारको पृष्ठभूमि मूल्याङ्कनमा कस्तो मापदण्ड अपनाउँछ र सार्वजनिक जबाफदेहितालाई कति प्राथमिकता दिन्छ भन्ने प्रश्न उठेको छ । आगामी निर्वाचनमा उम्मेदवार छनोट गर्दा यी विषयलाई पार्टीले कसरी सम्बोधन गर्छ भन्ने कुरा चासोका साथ हेरिएको छ ।







