चक्रवात ‘अर्नब’ को जोखिम : पर्सा प्रशासनद्वारा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

1200x150_1200x150-01.jpg (1)

वीरगंज , कार्तिक १० —

बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

मंगलबार जारी सूचनामा जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष मौसम बुलेटिनलाई उद्धृत गर्दै आगामी कात्तिक १२ गते बिहीबार रातिदेखि १४ गते शनिबारसम्म मधेश प्रदेशलगायतका क्षेत्रमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।

सम्भावित विपद्को जोखिम कम गर्न प्रशासनले कात्तिक १२, १३ र १४ गते विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको हो।

प्रशासनले पाकेको धान काट्ने, भित्र्याउनेलगायतका कृषि कार्य बिहीबारअघि नै गरिसक्न वा सो अवधिभर स्थगित गर्न आग्रह गरेको छ। त्यस्तै अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा यात्रा गर्नुपरे मौसमको अवस्था हेरेर मात्रै निस्कन सुझाव दिएको छ।

जिल्लाका साना तथा ठूला नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आकस्मिक बाढी आउन सक्ने खोला, खहरे तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई विशेष चनाखो हुन भनिएको छ।

वर्षा र बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्को अवस्थामा १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ नम्बरमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

साथै मौसम विज्ञान विभाग तथा सम्बन्धित निकायबाट जारी हुने आधिकारिक पूर्वानुमान र पूर्वसूचनालाई नियमित रूपमा पालना गर्न आग्रह गरिएको छ।

सम्बन्धित पोस्टहरुः