पीसीबीको नयाँ सर्तले एनपीएलका फ्रेन्चाइज तनावमा

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक १० —

नेपाल प्रिमियर लिग (एनपीएल) मा अनुबन्धित पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले प्रत्येक खेलाडीको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) का लागि अतिरिक्त २५ हजार अमेरिकी डलर माग गरेपछि समस्या उत्पन्न भएको हो।

एनपीएलका विभिन्न चार फ्रेन्चाइज टोलीले पाकिस्तानका आठ खेलाडी अनुबन्ध गरेका थिए। कर्णाली याक्समा साहिब्जादा फरहान र हुसेन तलात, चितवन राइनोजमा हसन अली, उसामा मिर र मोहम्मद नवाज अनुबन्धित थिए।

त्यस्तै जनकपुर बोल्ट्सले इफ्तिखार अहमद र हुनैन शाह तथा सुदूरपश्चिम रोयल्सले हैदर अलीलाई अनुबन्ध गरेका थिए।

प्रतियोगिता सुरु हुनुअघि पीसीबीले अतिरिक्त रकम नदिए एनओसी रोक्ने र जारी भइसकेका एनओसीसमेत रद्द गर्ने चेतावनी दिएको बताइएको छ। यसबाट विशेषगरी तीन पाकिस्तानी खेलाडी अनुबन्ध गरेको चितवन राइनोज प्रभावित भएको छ।

समस्या समाधानका लागि नेपाल क्रिकेट संघ (क्यान) ले पीसीबीसँग संवादको प्रयास गरे पनि सकारात्मक जवाफ नआएको जनाइएको छ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले पीसीबीको व्यवहार अप्रत्याशित भएको बताएका छन्। उनले पाकिस्तानी खेलाडीहरू एनपीएलबाट फिर्ता हुन सक्ने संकेत गर्दै यसबारे अन्तिम निर्णय सम्बन्धित फ्रेन्चाइज टोलीहरूलाई नै छाडिएको बताएका छन्।

सम्बन्धित पोस्टहरुः