वीरगञ्ज, १४ कार्तिक। प्याब्सन वीरगञ्ज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय समग्रमा च्याम्पियन बनेको छ।
द रोयल एकेडेमीमा सम्पन्न उक्त प्रतियोगितामा २५ वटा विद्यालयका १८४ जना विद्यार्थीहरूले नेपाली तथा अंग्रेजी हस्तलेखन विधा अन्तर्गत चारवटा समूहमा उत्कृष्ट प्रतिस्पर्धा प्रस्तुत गरेका थिए। प्रतियोगिताका विभिन्न विधा र समूहहरूमा प्राप्त अंकका आधारमा साउथ जोन माध्यमिक विद्यालयले ३५ अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गर्न सफल भयो। त्यसैगरी, २० अंकसहित गुरुकुल एकेडेमी दोस्रो र १७ अंकसहित आयोजक विद्यालय द रोयल एकेडेमी तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन्।
प्याब्सन पर्साका उपाध्यक्ष एवं कार्यक्रम संयोजक वीरेन्द्र यादवको संयोजनमा सम्पन्न यस प्रतियोगिताको नतिजा सोही दिन सार्वजनिक गरिनुका साथै सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो। उत्कृष्ट स्थान हासिल गर्ने सफल विद्यार्थीहरूलाई ट्रफी तथा मेडल भने भोलि १५ कार्तिकमा आयोजना हुने चित्रकला प्रतियोगिताको समापन समारोहका बीच वितरण गरिनेछ।






