बारा- बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनको विषयलाई लिएर सुरु भएको विवादले हिंसात्मक रूप लिएपछि गाउँपालिकाको अवस्था तनावग्रस्त बनेको छ। विवादका क्रममा गोली चल्दा एक जना घाइते भएको खबर सार्वजनिक भएको छ भने केही मोटरसाइकलमा आगजनीसमेत गरिएको छ।
घटनापछि क्षेत्रमा त्रास र तनाव बढेको छ। सम्भावित थप हिंसा रोक्न सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
यसैबीच, नेपाली कांग्रेस बारा क्षेत्र नम्बर–४ का क्षेत्रीय सभापति लोकेश सिंहले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै आन्दोलनरत पक्ष, आयोजक पक्ष र प्रहरी प्रशासनलाई संयमता अपनाउन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै सिंहले अस्पताल उद्घाटनजस्तो जनताको आधारभूत स्वास्थ्य सेवासँग जोडिएको विषयमा विवाद हुनु र त्यसले गोली चल्ने अवस्थासम्म पुग्नु दुःखद भएको बताएका छन्।
उनले सबै पक्षलाई जिम्मेवार भएर प्रस्तुत हुन, आपसी संवादबाट विवाद समाधान गर्न तथा थप अप्रिय घटना हुन नदिन संयमता अपनाउन अनुरोध गरेका छन्।
अस्पताल उद्घाटनको विवादले गोलीकाण्ड र आगजनीको रूप लिनुले फेटाको शान्ति सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। जनताको उपचार पाउने अधिकारसँग जोडिएको अस्पताल राजनीतिक तथा आपसी विवादको केन्द्र बन्नु हुँदैन।






