आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक ९ —

नेपाली क्रिकेटको महाउत्सव नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेलुकी ५ बजे हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र काठमाडौं गोर्खाज गरी आठ टोली सहभागी छन्।

यस संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता पाएको यस प्रतियोगितामा डेभिड वार्नर, आन्द्रे रसेल, शाकिब अल हसन, मोइन अली र जिमी निसमलगायत चर्चित विदेशी खेलाडीको सहभागिता रहनेछ। यसपटक पहिलोपटक निर्णय समीक्षा प्रणाली (डीआरएस) समेत प्रयोग गरिनेछ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार लिग चरणमा साधारण टिकटको मूल्य ५०० र प्रिमियम टिकटको एक हजार रुपैयाँ तोकिएको छ। एलिमिनेटर र फाइनलका लागि भने क्रमशः एक हजार र दुई हजार रुपैयाँ टिकट दर निर्धारण गरिएको छ।

प्रतियोगिताका लागि त्रिवि क्रिकेट मैदानको पूर्वाधार सुधार गर्नुका साथै सुरक्षा तथा दर्शक व्यवस्थापनमा विशेष तयारी गरिएको छ।

सम्बन्धित पोस्टहरुः