गुल्मी , कार्तिक १० —
गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीस्थित दबौखानीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
दुर्घटनामा जीप चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी–१ सिरकोटका ५० वर्षीय लोकनाथ पाण्डे, सोही ठाउँका सीता पाण्डे र कुलानन्द पाण्डे तथा वालिङ–२ की नीता बगालेको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो भने नीता बगालेको उपचारका क्रममा स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा कालीगण्डकी–१ का छविलाल पाण्डे र गोमता पाण्डे तथा वालिङ–१० का बालकृष्ण सुवेदी घाइते भएका छन्। उनीहरूको कालीगण्डकी सामुदायिक अस्पताल र पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ।
स्याङ्जाको वालिङबाट गुल्मीको सिरकोट हुँदै राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको जीप सोमबार बेलुका दुर्घटनामा परेको हो।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






