दशैंमा पनि तलब पाएनन् पोखरियाका कर्मचारी, दीपावली र छठमा समेत अन्योल

1200x150_1200x150-01.jpg (1)

वीरगंज , कार्तिक १० —

पर्साको पोखरिया नगरपालिकामा कार्यरत कर्मचारीहरू लामो समयदेखि तलब नपाउँदा समस्यामा परेका छन्। दशैंजस्तो ठूलो चाडमा समेत पारिश्रमिक नपाएका कर्मचारीहरू दीपावली र छठ पर्व नजिकिँदै गर्दा थप चिन्तित बनेका छन्।

नगरपालिकाका स्थायी कर्मचारीको तीनदेखि चार महिनासम्मको तलब रोकिएको छ भने सामुदायिक विद्यालयका शिक्षकहरूले त्रैमासिक तलब पाउन सकेका छैनन्। करारमा कार्यरत कर्मचारीले एक वर्षदेखि पारिश्रमिक नपाएको गुनासो गरेका छन्।

तलबको माग गर्दै दशैंअघि सफाइकर्मीहरूले दुईपटक काम ठप्प पारेर विरोध जनाएका थिए। नगरपालिकाले भुक्तानी गर्ने आश्वासन दिएपछि उनीहरू काममा फर्किए पनि समस्या समाधान हुन सकेको छैन।

नगरप्रमुख प्रद्युम्न चौहानले नगरसभा हुन नसक्दा तलब वितरणमा समस्या आएको बताएका छन्। नगरसभा गर्ने तयारी भइरहेको बताए पनि हालसम्म मिति निश्चित भएको छैन।

यता, नगरपालिकामा कार्यरत कर्मचारीहरूको वास्तविक सङ्ख्यासमेत स्पष्ट नभएको विषय उठेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीको विवरण माग गरेको बताइए पनि त्यसबारे स्पष्ट जानकारी सार्वजनिक भएको छैन।

चाडपर्वको समयमा समेत तलब नपाउँदा कर्मचारीहरू आर्थिक मारमा परेका छन् भने नगरपालिकाको प्रशासनिक व्यवस्थापनमाथि प्रश्न उठ्न थालेको छ।

सम्बन्धित पोस्टहरुः