वीरगंज , कार्तिक १२ —
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पर्साको जगन्नाथपुर गाउँपालिका–६, बहुअर्वा प्रसौनीमा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
रास्वपा जगन्नाथपुर गाउँपालिका सभापति पशुराम साह कानुको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुशील कुमार कानु र सुनिता चौधरीसहित पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सुशील कुमार कानुले दीपावली र छठ पर्वको शुभकामना व्यक्त गर्दै सामाजिक सद्भाव, एकता र भाइचारा कायम राख्नुपर्नेमा जोड दिए।
उनले रास्वपा नेतृत्वको सरकारका कामकारबाहीबारे चर्चा गर्दै आगामी स्थानीय तह निर्वाचनमा पार्टीको चुनाव चिह्न ‘घण्टी’मा मतदान गर्न आग्रहसमेत गरे।
कार्यक्रममा रास्वपा पर्साका जिल्ला उपसभापति दिलीप कुमार कुर्मी, जिल्ला सदस्य प्रियंका पटेल तथा क्षेत्रीय सभापतिहरू प्रदीप जैसवाल, फैयाज मियाँ र जितेन्द्र मिश्रालगायत विभिन्न पालिकाका पार्टी प्रतिनिधिहरू सहभागी थिए।
जगन्नाथपुर–६ का वडाध्यक्ष रामअयोध्या पटेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन दिनेश पटेलले गरेका थिए।
कार्यक्रममा पर्वको शुभकामना आदानप्रदानसँगै पार्टीको संगठनात्मक गतिविधि र आगामी राजनीतिक योजनाबारे समेत छलफल गरिएको थियो।







